राजनीति शास्त्र भनेको खाना पकाउन सिकाउने शास्त्र भनेपछि...
SHARE THIS POST :

पटना: भारतको बिहार राज्यमा उच्च माध्यमिक तहमा उत्कृष्ट दस अंक ल्याउने विद्यार्थीले पुनः परीक्षा दिनुपर्ने भएको छ। उनीहरूले चोरी वा नक्कली काम गरेर उत्कृष्ट स्थान हासिल गरेको भन्दै पुनः जाँच दिनुपरेको हो।

प्राप्तांकअनुसार उनीहरूको क्षमता नभएको पत्ता लागेपछि बिहार बोर्डबाट पास गरेका उनीहरूमाथि आशंका गरिएको थियो। बिहार बोर्डमा सर्वोत्कृष्ट स्थान हासिल गरेका विद्यार्थीलाई अन्तर्वार्ताका क्रममा केही प्रश्न सोधिएको थियो।

 उनीहरूले अचम्मलाग्दो जवाफ दिएपछि यो सार्वजनिक भएको हो। मानविकी संकायमा १२ कक्षातर्फकी सर्वोत्कृष्ट छात्रा १७ वर्षीया रुबी रायलाई राजनीति शास्त्र के हो भनेर सोधिएको थियो। उनले राजनीति शास्त्र भनेको खाना पकाउन सिकाउने शास्त्र भएको उत्तर दिएकी थिइन्।

रुबीको मूल विषय राजनीति शास्त्र भएकाले पत्रकारले यस्तो प्रश्न सोधेका थिए। उक्त विषयमा उनले विशिष्ट अंक ल्याएकी छन्। यसैगरी विज्ञानतर्फका सर्वोत्कृष्ट हुन सफल छात्रले पनि सामान्य तहको उत्तर पनि गलत दिएका थिए।

उनलाई पानी र एचटुओ बीच के सम्बन्ध छ भनेर सोधिएको थियो । गत साता उच्च माध्यमिक तहको परिणाम सार्वजनिक भएपछि सर्वोत्कृष्ट भएका विद्यार्थीलाई स्थानीय च्यानलले अन्तर्वार्ताका क्रममा यस्ता प्रश्न गरेका थिए।

यो घटनाबाट बिहार सरकारको शैक्षिक नीतिमाथि आलोचना सुरु भएको थियो। बिहार सरकारले बाध्य भएर १५ लाख विद्यार्थीमध्ये उत्कृष्ट १० स्थान हासिल गरेका सबै छात्रछात्राको आगामी साता पुनः परीक्षा लिने भएको हो।

बिहारका शिक्षामन्त्री अशोक चौधरीले उनीहरूको जवाफबाट आफू चकित भएको बताएका छन्। उनीहरूको परीक्षा अरू विद्यार्थीले दिएको हुनसक्ने वा उनीहरूको उत्तरपुस्तिका जाँच दिइसकेपछि साटेको हुनसक्ने बताए। ती उत्कृष्ट स्थान हासिल गर्ने आधिकांश विद्यार्थी राजधानी पटनाबाट २० किलोमिटर दूरीमा रहेको हाजीपुरस्थित विएन राय कलेजका हुन्।

विहारमा शैक्षिक माफिया निकै सक्रिय छन्। उनीहरूले भर्ना प्रक्रियादेखि परीक्षा दिन समेत संगठित रूपमा काम गरिरहेका छन्। गत वर्ष दसको परीक्षामा चिट चोरीको प्रसंग निकै चर्चामा आएको थियो।

परीक्षा केन्द्रका झ्यालमा चढेर मानिसले चिट चोराएका दृश्य अन्तर्राष्ट्रियस्तर समाचार बनेका थिए। उक्त समाचारपछि चिट चोराउनेलाई ५ वर्ष जेल सजाय र आर्थिक जरिवानाको व्यवस्था गरिएको थियो।

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.