सेनामा आर्थिक पारदर्शिता आवश्यक
SHARE THIS POST :

पुस २८, २०७२- प्रधानसेनापतिले आफ्ना पुराना हातहतियार विस्तापित गरी नयाँ खरिद गर्न सरकारसँग ८ अर्ब ६६ करोड रुपैयाँ मागेको तथ्य पुस १ मा सार्वजनिक भएको छ । संसदीय समितिमार्फत यो तथ्य बाहिर आएको हो ।

संयोगवश, ६५ वर्षअघि जुन दिन राजा महेन्द्रले सेनाको सहयोगमा पहिलो निर्वाचित सरकार तथा संसद भंग गरेर मुलुकभरिका राजनीतिककर्मीहरूलाई थुनेका थिए, त्यही दिन सेनापतिले यति ठूलो रकमको माग गरेको समाचार प्रसार भयो । तर यो समाचारप्रति जनमानसमा कुनै खाले टिप्पणी या प्रतिक्रिया आएन ।

भूकम्प र परकम्पनले जर्जर पारेको र भारतीय नाकाबन्दीले मुलुकको अर्थतन्त्र धराशायी तुल्याएको परिप्रेक्ष्यमा सेनाबाट भएको यो माग बहसको विषय हुनुपर्ने हो । तर त्यसो नहुनुमा सेनाप्रतिको आदरले प्रमुख भूमिका खेलेको हुनसक्छ ।

वास्तवमा सरकारी कुनै पनि निकाय चाहे त्यो सेना नै किन नहोस्, उसलाई राज्यकोषबाट दिइने रकम बढ्दा वा कटौती गरिँदा राज्यले आफ्नै स्रोत र साधनले गर्नुपर्ने खर्चहरू, जस्तै— बाटोघाटो निर्माण, भूकम्प पीडितलाई दिइने राहत अनुदान, शिक्षा, स्वास्थ्य लगायत वृद्धाभत्ता आदि सेवाहरू वृद्धि वा कटौती गर्नुपर्ने बाध्यात्मक स्थिति आउँछ । त्यसकारण विनियोजन पूर्व खर्चका निम्ति छुट्याइने रकमको प्रत्येक रुपैयाँको मूल्यको (भ्यालु फर मनी) मूल्यांकन हुनु आवश्यक छ ।

सन् १९९४ को एउटा घटनाको प्रसंग यस आलेखका निम्ति सान्दर्भिक हुन्छ । त्यस समय नेपाली सेना संयुक्त राष्ट्र संघको आह्वानमा अन्तर्राष्ट्रिय शान्ति सेनाको भूमिकाका निम्ति टुक्रँदै युद्धमा होमिएको पूर्व युगोस्लाभिया गणराज्य पुगेको थियो ।

बाल्कनको जाडो याममा शान्ति स्थापना गर्न पुगेको नेपाली सेनासँग चिसो याममा सञ्चालन हुनसक्ने हतियार थिएन । त्यतिमात्र होइन, हिमपात भइरहेको अवस्थामा उनीहरूसँग मौसम अनुरुपको लुगाफाटो र जुत्ता आदि केही पनि थिएन ।

संयुक्त राष्ट्र संघले धेरै अप्ठेराहरू झेलेपछि जर्मनीको सहयोगमा शान्ति सेनामा गएको नेपाली फौजलाई सक्रिय हुन नितान्त आवश्यक सहयोग सामग्रीहरू जुटाइदियो । यो घटनाले के उजागर गर्छ भने हाम्रा सेना पनि बेलाबखतमा दुलही छान्नु अघि नै जन्ती लिएर जान चुक्दैन ।

 पुस १ मा प्रधानसेनापतिले संसदको राज्यव्यवस्था समितिको बैठकमा पेस गरेको मागले पुन: एकपटक सेनालाई आफ्नो आवश्यकता समेतको बोध कति ढिलो हुनसक्दो रहेछ भन्ने उदाहरण प्रस्तुत गर्छ ।

आफूसँग भएको ४५ प्रतिशत हातहतियार काम नलाग्ने भेउ उसले आफैले प्रस्तुत गरेको बजेट पारित भएको ५–६ महिना बितिसकेपछि मात्र थाहा पाउनुलाई छुट भएको घटना भनेर चुप लाग्न सकिंँदैन । किनकि विना हतियार र गोलीगट्ठा सेनाको अस्तित्व हुँदैन ।

शाहीकालमा दरबार, सेनाप्रति सजग र संवेदनशील थियो । किनकि राजाको शक्तिको असली स्रोत सेना थियो । त्यसकारण राजाहरूले अर्थमन्त्रीहरूलाई सेनाले गरेको माग विना रोकटोक पूर्ति गरिदिने आदेश दिन्थे ।

विडम्बना, शाही शासनकालदेखि कायम रहेको सेनाले प्रस्तुत गरेको मागहरूलाई अर्थमन्त्री वा तिनको मातहतको (अर्थ) मन्त्रालयले विना कुनै बहस, औचित्यको अध्ययन वा आलोचनात्मक विश्लेषण खुरुक्क बजेट विनियोजन गरिदिने परिपाटी कायम छ । अर्थात् सेनाको अनुरोधलाई बजेट भाषणमा समावेश गर्ने परम्परा संघीय गणतान्त्रिक नेपालले कायम नै राखेको छ ।

त्यति हुँदाहुँदै पनि सेनाले समय अर्थात् बजेटसम्बन्धी निर्णय हुँदा आफ्नो आवश्यकताको पहिचान गर्न नसक्नु भनेको उसले नितान्त आवश्यक गृहकार्य गर्न नसक्नाको कारणले गर्दा नै हो ।

हाम्रो रक्षासम्बन्धी खर्च धेरै वा थोरै छ भन्ने निचोड निकाल्न अन्य मुलुकले गर्ने खर्चसँग दाँजेर हेर्दामात्र सहज हुन्छ ।

समग्र रूपमा सन् २०१५ विश्वले अमेरिकी डलर १,७७६ अर्ब अर्थात् संसारभरिका मुलुकहरूको कुल वार्षिक उत्पादनको २.३ प्रतिशत खर्च हुनेछ । सबैभन्दा बढी सैनिक खर्च गर्ने राष्ट्र अमेरिका हो ।

सन् २०१५ मा अमेरिकाको सैनिक खर्च उसको कुल राष्ट्रिय उत्पादनको ३.५ प्रतिशतको हाराहारीमा हुनेछ । दोस्रो स्थानमा रहेको राष्ट्र चीनको खर्च २.१ प्रतिशत र आठौं स्थानमा भएको भारतले कुल राष्ट्रिय आयको २.४ प्रतिशत खर्च हुने आनुमन छ । हाम्रो हकमा भने यो १.५ प्रतिशतको हाराहारीमा छ ।

विगतमा नेपाल सरकारले विनियोजन गरेको रक्षा बजेटलाई कुल राष्ट्रिय उत्पादनसँग दाँज्ने हो भने सन् १९९० को दशकसम्म रक्षा खर्च राष्ट्रिय उत्पादनको १ प्रतिशतको हाराहारीमा सीमित थियो । १९९६ देखि सुरु भएको माओवादी विद्रोहका कारणले गर्दा प्रहरीतिर मात्र नभएर सेनाको पनि खर्च बढ्न थालेको थियो ।

माओवादीसँगको युद्धको उत्सर्गमा पुग्दा सन् (२००५) मा झन्डै कुल राष्ट्रिय आयको २ प्रतिशत रक्षा शीर्षकमा खर्च भएको थियो । त्यसपछि खर्च घट्ने क्रम जारी छ । सन् २००६ देखि २०१५ सम्म आइपुग्दा १. ५ प्रतिशतको परिधिमा पुगेको छ ।

नेपाली सेनाको संख्या एक लाखको हाराहारीमा पुग्दैछ । नेपाली सेना यो देशमा भएको जनसंख्या संरचनाको विम्ब पनि मानिन्छ, किनकि यसको चरित्र समावेशी छ ।

सेनाको परमाधिपति यो मुलुकको राष्ट्रपति अर्थात् साधारण परिवारको छोरी छिन् । अनि सेनाको लामो अवधिसम्म ‘शत्रु नम्बर १ कहलिएका माओवादी कमान्डर यो मुलुकको उपराष्ट्रपति पदमा आसिन छन् ।



अनि आजको सेना ‘राजाको नुन खाएको’ हुनाले आफुलाई उसको सेवक सम्झँदैन । नत उसले ‘हाम्रो राजा र हाम्रो देश प्राणभन्दा प्यारो छ’ भन्ने नै मान्यता राख्नछोडेको धेरै भइसकेको छ । शाही सेनाबाट नेपाली सेनामा परिणत हुँदासम्म सेनाको जवानहरूको मनोविज्ञानमा समेत थुप्रै परिवर्तन आइसकेको छ ।

आजको सेनाका जवानहरू जति अनुशासित छन्, त्यति नै आफ्नो अधिकार र कर्तव्यप्रति सजग पनि । सेनामा पुरानो अनुशासनको नाममा हुने थिचोमिचो अबका दिनमा सम्भव छैन ।

 त्यसकारण त्यहाँ हुने असन्तुष्टिहरू विस्तार नै किन नहोस्, चुहिन थालेका छन् । त्यसकारण बद्लिँदो परिस्थिति अनुरुप जति सेना पारदर्शी हुन्छ, त्यति नै यस संगठनको साख बढ्छ भन्ने यो पंक्तिकारको विश्वास छ ।

नयाँ नेपालमा देखापरेका अनेक विकृतिहरूमध्ये सबैभन्दा जटिलचाहिँ जनमानसमा नेताहरू र तिनले नेतृत्व गरेको राजनीतिक दलहरूप्रतिको आस्थामा आएको गिरावटलाई मान्न कर लाग्छ ।

राजनीतिक व्यक्तित्वसँगै सरकारी तथा अर्धसरकारी निकायहरू र तिनमा कार्यरत कर्मचारीप्रतिको पनि जनविश्वासमा ठूलै गिरावट आएको छ । त्यसको प्रमुख कारण सबै क्षेत्रमा मौलाएको भ्रष्टाचार हो र सबै क्षेत्रलाई भ्रष्टाचारले गाँजेको छ ।

 यो देशमा को इमानदार र को भ्रष्ट छुट्याउन दिन—प्रतिदिन कठिन हुनथालेको छ । यस्तो परिस्थितिमा पनि सेनाले आफ्नो साख धेरै हदसम्म कायम गर्न सफल भएको छ ।

यसले गर्दा सेनाप्रति जनविश्वास कायम छ । त्यही कारणले गर्दा सेनालाई विवादित तुल्याउने दु:साहसको जनसाधारणबाट विरोध हुन्छ । सेनाले उसको सुरक्षा गर्छ भन्ने जनमानसमा विश्वास छ । यस्तो पृष्ठभूमिमा सेना चुक्यो भने यो मुलुकमा सम्मान पाउने संगठन रित्तिनेछ ।  जुन देशका निम्ति अति नै घातक हुनेछ ।

सेनालाई मुलुकले आफूबाहेक कसैप्रति पनि जवाफदेही हुनु नपर्ने सुविधा दिएको छ । राजसंस्था हुँदा सेना संस्थागत हिसाबले दरबारप्रति जवाफदेही थियो । दरबारले उसको गतिविधिहरू नजिकबाट निगरानी गर्ने गर्थ्यो ।

मुलुक गणतन्त्र घोषित भएपछि सेनाको निगरानी गर्ने निकाय छैन । त्यस्तो संस्थागत अभावले के कस्तो कामलाई प्रोत्साहन गर्छ भन्ने गतवर्ष टड्कारो रूपमा सतहमा देखापर्‍यो ।

 सेनाले स्थापित खरिद प्रक्रियाका नियम कानुनलाई लत्याएर दुइटा एमआई–१७ हेलिकप्टरको खरिद गर्‍यो । त्यो छताछुल्ल भएर सञ्चार माध्यमहरूमा आउँदा पनि सरकारले प्रक्रिया रोक्न सकेन वा चाहेन ।

 त्यस्तो गैरकानुनी निर्णय कार्यान्वयन गर्ने जिमेवार व्यक्तिलाई राज्यले कारबाही गर्नुको साटो निरीह भएर टुलुटुलु हेरेर बस्यो । त्यसो त सेना पनि भ्रष्टाचारमुक्त नभएको गुनासाहरू समय—समयमा नआउने गरेका भने होइनन् । तर तिनको छानबिन भएको घटना बिरलै प्रकाशमा आएका छन् ।

गैरकानुनी आपराधिक गतिविधिहरूलाई सधैं गलैंचामा छोपेर राख्न सकिँदैन ।

सेनामा हुने अवैध गतिविधिहरू पनि ढिलो—चाँडो प्रकाशमा आउने नै छन् । तिनले सेनाप्रतिको सम्मानलाई गिराउने काम गर्छ । संविधान २०७२ ले पनि विगतमा जस्तै सेनालाई राज्यको अभिन्न अंग तुल्याउनुको साटो यस संस्थालाई ‘इस्पेसल’ अलग्ग राखिने प्रावधान गरेको छ ।

मुलुकमा भ्रष्टाचार सम्बन्धी छानबिन गर्ने कुनै पनि निकायले सेनामा भ्रष्टाचार भएको थाहा पाए पनि अनुसन्धान गर्न पाउँदैन ।

सेनाभित्र हुने अनियमितताका काण्डहरूलाई आन्तरिक छानबिन प्रक्रिया अन्तर्गत राख्ने प्रावधान गरिएको छ । जुन लोकतन्त्रको सिद्धान्तसँग बाझ्नेमात्र नभएर सेना तथा समष्टिगत रूपमा मुलुकको हितमा छैन ।

हाम्रोजस्तो मुलुकमा विभागीय छानबिनको आधारमा अपराधीको पहिचान हुन्छ र तिनले न्यायसंगत सजाय पाउँछन् भन्ने सोच राख्नु कठिन हुन्छ ।

सेनामा भएका गैरकानुनी क्रियाकलापलाई विभागीय कारबाही वा ‘कोर्टमार्शल’ गरी अवकाश दिंँदैमा त्यस्ता गतिविधिहरू रोकिएला भन्ने कल्पनासम्म पनि गर्न सकिँदैन ।

नेपाली सेनाको लक्ष्य भनेको मानव जीवनको रक्षा गर्नु हो, चाहे बाहिरी वा अन्तरिक किन नहुन् । साख गिरेको संस्थाले नागरिकको जीवनरक्षा गर्न सक्दैन ।

त्यसकारण सेनालाई परजीवी तुल्याएर अलग राख्नुको साटो उसलाई यो समाजको अभिन्न अंग तुल्याएर देशमा स्थापित भएका नियम कानुनको पालना गर्ने संगठन बनाउँदा नै सबैको भलाइ हुने प्रस्ट छ ।

 त्यसका निम्ति आवश्यक भए संविधान संशोधन गरेर भए पनि सेनालाई पारदर्शी तुल्याउनु अत्यावश्यक छ ।

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.