तीन दल-मधेसी मोर्चा वार्ताः ११ बुँदेमा सहमति खोज्न कार्यदल बनाउने प्रस्ताव
SHARE THIS POST :

प्रमुख तीन दलले मधेसी मोर्चाको ११ बुँदे मागबारे सहमति जुटाउन संयुक्त कार्यदल गठनको प्रस्ताव गरेका छन् । मधेसी मोर्चाले भने यसमा सहमति जनाइसकेको छैन ।


आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा तीन दल र मधेसी मोर्चाका नेताहरूबीच झण्डै तीन घन्टा वार्ता भएको थियो ।

वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले गम्भीर ढंगले वार्ता गरेर छिट्टै समाधान निकाल्न प्रस्ताव गरे । तीन दलका नेताहरूले संविधान संशोधन विधेयकमा सहमतिमा आउन समेत मधेसी मोर्चालार्इ आग्रह गरेका छन् ।

तर, मधेसी मोर्चाका नेताहरूले समग्रमा सहमति खोज्नु पर्ने बताए । त्यसमा विपक्षी कांग्रेस र एमाओवादी समेत सकारात्मक देखिए ।

बैठकमा तीन दलले चारै पक्ष रहने गरी कार्यदल बनाउने र मोर्चाको ११ बुँदे मागबारे सहमति खोज्ने प्रस्ताव गरेका छन् । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस उपसभापति रामचन्द्र पौडेलले संविधान संशोधन र सीमांकनबारे छलफल भएको भन्दै कार्यदल गठनको प्रस्ताव राखेको बताए ।

एमालेका भीम रावल, कांग्रेसका महेश आचार्य र एमाओवादीका कृष्णबहादुर महरा कार्यदलमा प्रस्तावित छन् ।

मधेसी मोर्चालार्इ एक वा दुर्इ जना प्रतिनिधि दिन भनिएको छ । तर, मधेसी मोर्चाले कार्यदलमा बस्ने नबस्ने केही निर्णय दिएको छैन ।

मोर्चाका शीर्ष चार नेता मध्ये महन्थ ठाकुर मात्र वार्तामा थिए । अन्य नेताहरू बाहिर रहेको भन्दै मोर्चाका नेताहरूले आन्तरिक छलफल गरेर जवाफ दिने बताएका छन् ।

बैठकपछि तमलोपाका नेता हृदयेश त्रिपाठीले कार्यदल प्रष्ट नभएको भन्दै कर्मकाण्डी हुन सक्ने आशंका व्यक्त गरे ।

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.