दुई थान पाटेबाघको छालाहड्डीसहित ६ भारतीय र २ नेपाली पक्राउ
SHARE THIS POST :

माघ । नेपाल प्रहरीले दुर्लभ संरक्षित पाटेबाघको छाला र हड्डीसहित ६ भारतीय नागरिक र २ जना नेपालीलाई पक्राउ गरेको छ ।बर्दिया राष्ट्रिय निकुञ्जमा चोरीशिकार गरी ओसारपसार गरिहेको अवस्थामा कैलालीको पहलमानपुर ईलाकाबाट दुई थान छाला र हड्डीसहित उनीहरुलाई पक्राउ गरिएको हो ।

सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दीपायलबाट प्रहरी नायव निरीक्षक बीरेन्द्रसिंह जोहारीको नेतृत्वमा खटिएको क्षेत्रीय अनुसन्धान समुह (आरआइटी) ले बुधबार पहलमानपुर ईलाकाबाट अति दुर्लभ संरक्षित पाटेबाघको छाला र हड्डी सहित पक्राउ गरेको सुदूरपश्चिम प्रहरी प्रमुख डीआइजी माधव नेपालले बताए ।

उनका अनुसार पक्राउ पर्नेमा भारतको हरियाणा हिसारका ५० वर्षीय जगदिशचन्द्र बाबरिया र सोही ठाउँका ३२ वर्षीय रामपाल बाबरिया, लुदियाना पञ्जावका ४० वर्षीय रामु भनिने रामु बाबरिया र सोही ठाउँका ३१ वर्षीय श्रवण बाबरिया, रोपड चम्कोरशाही पञ्जावकी ४० वर्षीया कमला बाबरिया र सोही ठाउँकी २८ वर्षीया अनार्कली बाबरिया रहेका छन् ।

त्यस्तै, कैलालीको लालबोझीका ३५ वर्षीय दुखराम चौधरी र कैलाली पहलमानपुरका ४८ वर्षीय अगानु चौधरी पनि रहेको डीआइजी नेपालले बताए ।भारतको फिरन्ते समुदाय अन्तरगत पर्ने बाबरियाले नेपालका विभिन्न क्षेत्रमा पाल टाँगी बस्ने र पासो, जाल, खाल्डो खनेर तथा विष प्रयोग गरेर दुर्लभ बाघ लगायतका जनावरहरुको चोरीशिकार गरेर बेच्ने गरेको प्रारम्भीक अनुसन्धानमा खुल्न आएको प्रहरीको भनाई छ ।

डीआइजी नेपालले पक्राउ परेकाहरुको साथबाट बोरामा बोकीरहेको अवस्थामा ११ फिट २ इन्च लम्बाई तथा ३ फिट २ इन्च चौडाई भएको एकथान र १० फिट ९ इन्च लम्बाई तथा ३ फिट २ इन्च चौडाई भएको एकथान गरी दुई थान पाटेबाघको छाला र ३९ किलो ५०० ग्राम हड्डी बरामद गरेको बताए ।पक्राउ परेकाहरुले डेढ महिनाअघि बर्दिया राष्ट्रिय निकुञ्जमा जाल फिजाएर मारेको स्वीकारेका छन् । यसरी मारेको बाघको छाला र हड्डी उनीहरुले अढाईदेखि तिनलाखसम्ममा बेच्ने गरेको प्रहरीको भनाई छ ।

गाउँघरतिर बाबरियालाई स्यालखाने तथा बनकरिया आदि नामले चिनिन्छ । यिनीहरु बस्ती भन्दा टाढा जंगल तथा खोलाको छेउछाउमा पाल गाडेर बस्ने र त्यहिँ वन्यजन्तुको चोरीशिकार गर्नेगरेको पाइएको छ ।भारतको हरियाणा, पञ्जाव, राजस्तानका यी समुदाय प्रायजसो बसाइँ सरिरहने र कूलदेवतासँग पनि बाघ मार्न सकु भनि भाक्कल गर्ने र बाघ मारिसकेपछि कूलदेवतालाई बोको चढाउने गरेको अनुसन्धानका क्रममा खुल्न आएको प्रहरी नायव निरीक्षक बीरेन्द्रसिंह जोहारीले बताए ।

जोहारीका अनुसार, बाबरिया समुदायको गाउँमा महापञ्चायत भन्ने हुन्छ सो पञ्चायतले नै हरेक वर्ष बाघको मूल्य तोक्ने र बाघ मार्न लगाउने गर्छ । हालसम्म सुदूरपश्चिम आरआइटीले बर्दिया राष्ट्रिय निकुञ्जबाट ८ ओटा बाघको पासो, जाल, विष खुवाएर मारेर चोरी निकासी गर्दैगरेको अवस्थामा कञ्चनपुरको दोधारा, बेलौरी र पुर्नवास, कैलालीको मालाखेती, घोडाघोडी र पहलमानपुर तथा बर्दिया र सुर्खेतबाट १८ जनालाई छाला र हड्डी सहित पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीका लागि बर्दिया राष्ट्रिय निकुञ्जलाई बुझाइएको छ । उनीहरुलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार कारवाहीको प्रक्रिया अघि बढाइने बताइएको छ । सो ऐनमा ५ वर्षदेखि १५ वर्ष कैद तथा एक लाखदेखि ५ लाख जरिवाना वा दुबै सजाय हुने प्रावधान रहेको छ ।

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.