कुवेतमा गैरकानुनी कामदारले जरिवाना तिरे ‘आममाफी’
SHARE THIS POST :

कुवेतमा गैरकानुनी तवरले बसेका कामदार खोजी गर्दै कुबेती प्रहरी । तस्वीर सौजन्य : कुना


कुवेत सरकारले स्थानीय आबासीय कानुन उल्लंघन गरी गैरकानुनी रुपमा बस्दै आएका आप्रवासी कामदारलाई जरिवाना तिरेर फर्कन वा बस्न पाउने गरी ‘आममाफी’ दिएको छ ।

कुवेतस्थित नेपाली दूतावासका अनुसार गैरकानुनी कामदारले जरिवाना तिरेमा कुवेतमा फेरि आउन पाउने र वैध भएर बस्न पाउने गरी आइतबार ‘आममाफी’ घोषणा गरेको हो । ‘नेपालीसहित आप्रबासी कामदारको लागि यो एउटा अवसर हो,’ कुवेतका लागि नेपाली राजदूत यज्ञबहादुर हमालले कान्तिपुरलाई भने । उनले यसलाई सदुपयोग गर्न गैरकानुनी रुपमा बस्दै आएका नेपाली कामदारलाई अपिल पनि गरेका छन् ।

आन्तरीक मन्त्रालयको जनसम्पर्क तथा सुरक्षा सञ्चार विभाग निर्देशक बिग्रेडियर अदिल अल हसाहसले गैरकानुनी कामदारले दैनिक २ केडी (करिब ७ सय रुपैयाँ) देखि बढीमा ६ सय केडी (करिब २ लाख रुपैयाँ) सम्म बुझाउनुपर्ने बताए । नबुझाउने कामदारलाई प्रहरीले पक्राउ गरेमा फेरि कुवेतमा आउन नपाउने गरी डिपोर्ट (निष्कासन) गर्ने हसाहसले बताए ।

भगौडा कामदारले आफैं आन्तरिक मन्त्रालयको आबासीय मामिला विभागमा गएर आत्मसर्पण गरेमा भने मात्रै आममाफीले दिएको सुविधा पाउनेछन् । ‘आममाफी पाए स्वदेश गएमा उनीहरु भविष्यमा पुन: कुवेत आउन पाउनेछन्,’ हसाहसले पत्रकार सम्मेलनमा भने ।

पछिल्लो महिनादेखि गैरकानुनी रुपमा बस्दै आएका कामदारलाई कुवेती प्रहरीले व्यापक पक्राउ गरी डिपोर्ट प्रक्रिया अगाडि बढाइरहेको अवस्थामा कुवेतको आन्तरिक मन्त्रालयले आंशिक आममाफीको कार्यक्रम ल्याएको हो । आइतबारसम्म प्रहरीले गैरकानुनी कामदारको बसोबास रहेको क्षेत्र जलिप अल–सुयुख, अर्दिया क्षेत्रमा छापा मारी तीन हजार ७ सय ८१ जनालाई पक्राउ गरी डिपोर्टटेसन प्रक्रियामा राखिसकेको मन्त्रालयले सार्वजनिक गरेको छ । राजदूत हमालले ती पक्राउ पर्नेमा ठूलो मात्रमा नेपाली कामदार नपरेको बताए । ‘केही त परेका छन्,’ उनले भने, ‘उनीहरुलाई स्वदेश फिर्नको लागि ट्राभल डकुमेन्ट दिनेछौं ।’

कुवेतले झन्डै पाँच वर्षअघि आंशिक आममाफी दिएको थियो । सबैभन्दा बढी भाग्नेमा घरेलु कामदारमा कार्यरत महिला कामदार छन् । जो जोखिमयुक्त अवस्थामा काम गरिरहेका छन् । भागेर बस्ने कामदारको यकिन तथ्याङ्क दूतावाससँग छैन । केही महिनाअघि स्थानीय सञ्चार माध्यमले कुवेती निकायलाई उद्धत गर्दै चार हजार नेपालीले आवासीय कानुन उल्लंघन गरेर गैरकानुनी भएर बसेको तथ्याङ्क सार्वजनिक गरेको थियो ।

आममाफी पर्खेर बस्नेहरुलाई जरिवाना तिर्नुपर्ने बाध्यकारी नियमले निरास भने बनाएको छ । ‘जरिवाना तिरेर जानुपर्ने अवस्थाले त्यति खुसी छैन,’ पाँच वर्षदेखि भागेर काम गर्दै आएकी कपिलवस्तुकी एक घरेलु कामदारले भनिन्, ‘यति धेरै रकम हामीले तिर्न सक्ने अवस्था छैन ।’

कुवेतमै काम गर्न चाहनेहरु भने खुसी भएका छन् । ‘यहाँ अवसरहरु देखेका छौं । ब्युटिपार्लर क्षेत्रमा काम गरिरहेका छौं । जरिवाना तिरेर भए पनि कानुनी रुपमा बस्न पाए हुन्थ्यो,’ झापाकी सीता ढुंगानाले भनिन्, ‘यो मौकाको सदुपयोग गर्छु ।’

घरेलु कामदारको बाहुल्य रहेको कुवेतमा नेपालीले नै प्रलोभनमा परेर घरमा कार्यरत महिलालाई भगाउन प्रोत्साहित समेत गर्ने गरेका छन् । केही भने घरमा हुने श्रम शोषण र बन्धकजस्तो जीवन बिताउनु परेमा भाग्ने गर्छन् ।

नेपाली दूतावसका अनुसार कुवेतमा हाल ६० हजार नेपाली कार्यरत छन् । जसमा करिव २४ हजार हाउसमेड छन् । करिव दुई वर्षदेखि कुवेतमा हाउसमेड ल्याउन रोक लगाइएको छ ।

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.