भारतले पानी नछाड्दा ३ जिल्ला सुख्खै हेर्नुस पुरा सामाचार
SHARE THIS POST :

माघ ५, २०७२- भारतीय पक्षले गण्डक नहरमा पानी नछाड्दा तराईका ३ जिल्लाको सिँचाइ प्रभावित भएको छ । धानपछिको प्रमुख बाली गहुँखेतमा पानी पुर्‍याउन नसक्दा किसान चिन्तित छन् । ५ महिनाको मधेस बन्द र भारतको अघोषित नाकाबन्दीले धान उब्जनीमा कमी आएकाले किसान अहिले सिँचाइ अभावमा गहुँ बिग्रिन थालेपछि पिरोलिएका हुन् । किसानका अनुसार बीउ छरेको ४ साताभित्र खेतमा पानी हाल्नुपर्छ । तर, बीउ छरेको डेढ महिना बित्न लाग्यो । अहिलेसम्म नहरमा पानी आएको छैन । गण्डक नहरबाट पर्सा, बारा र रौतहटका किसानले सिँचाइ सुविधा लिँदै आएका छन् । ‘खेतमा बीउ छरेको कम्तीमा २१ दिन र बढीमा २८ दिनभित्र सिँचाइ गरिहाल्नुपर्छ,’ पर्सा लङडीका प्रदीप पटेलले भने, ‘पानी अभावमा उम्रिएको बीउ पनि पहेंलिएको छ ।’ कम्तीमा पनि ५ इन्च उम्रिसक्नुपर्ने बिरुवा अहिले मुस्किलले ३ इन्चको छ । केही ठाउँमा बोरिङको सुविधा भए पनि अधिकांश खेत नहरकै पानीले सिँचाइ हुने गरेका छन् । जिल्ला कृषि कार्यालयका प्रमुख बाली संरक्षण अधिकृत सुरेश चौरसियाले समयमा गहँुखेतमा सिँचाइ नगर्दा उत्पादन घट्ने बताए । ‘बीउ छरेको २५ दिन भित्र अनिवार्य सिँचाइ गरिहाल्नुपर्छ,’ उनले भने, ‘समयमा पानी नदिँदा उत्पादन घट्छ ।’ कृषिका अनुसार जिल्लाको २२ हजार ६ सय ३० हेक्टर जग्गामा यसपालि गहुँबाली लगाइएको छ । नहरले पर्सा र बाराका मात्र २९ हजार हेक्टरमा सिँचाइ सुविधा पर्‍याउने गरेको छ । नारायणी सिँचाइ डिभिजन कार्यालयका सूचना अधिकारी सुरेशप्रसाद साहले भारतीय भूमिमा नहरको संरचना बिग्रिएकाले पानीको बहाव रोकिएको जानकारी दिए । लामो समयसम्म पानी नआएपछि गत शनिबार एक टोली भारतीय समकक्षीकामा पुगेको उनले जानकारी दिए । ‘नेपाल भारत सीमाबाट करिब २१ किलोमिटरभित्र भारतीय भूमिमा नहरको निर्माण कार्य चलिरहेको छ,’ उनले भने, ‘जग उठिसकेको छ, यही शुक्रबारसम्म पानी छाड्ने आश्वासन दिएका छन् ।’ ८१ किलोमिटर लम्बाइको नहरमा अहिले ५६ किमिसम्म मात्र पानी आउँछ । ‘बहाव क्षमता ८ सय ५० क्युसेफ भए पनि सम्झौताअनुसार पानी छाड्दैनन्,’ एक इन्जिनियरले भने । धान र गहुँ खेतीको प्रत्येक सिजनमा भारतीय पक्षले पानीको बहाव रोकिदिने गरेको कर्मचारी बताउँछन् । ‘सिँचाइ आवश्यक भएको बेला कुनै सिजनमा पनि पानी आउँदैन,’ नगरदाहाका प्रभु यादवले भने, ‘नचाहिएको बेला भरिभराउ पानी बगिरहेको हुन्छ ।’ सन् १९५९ मा नेपाल र भारतबीच गण्डक सम्झौता भएको हो । नवलपरासीस्थित नारायणी (गण्डक) नदीमा निर्माण गरिएको ब्यारेजबाट नेपालका लागि पर्साको जानकीटोला भएर गण्डक नहरमा पानी आउने गरेको छ । भारतीय पक्षले सम्झौताअनुसार पानी नछोड्दा अधिकांश क्षेत्रमा पानी पुग्दैन । पर्सा देखि रौतहटसम्म सिँचाइ गर्ने योजना अनुसार गण्डक निर्माण भए पनि बाराको आधा भूभागसम्म मात्र पानी पुग्ने गरेको नारायणी सिँचाइ व्यवस्थापन कार्यालयले जनायो जमुनी नदीको पानी नहरमा ल्याएर रौतहटको जमिन सिँचाइ गर्ने योजना रहेको इन्जिनियर साहले बताए ।

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.